गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ मा जन्मिएका बिकास बाबू परियार सानै उमेरमा नेपालको ‘टेलरिङ’ क्षेत्रमा जमेका युवा हुन् । टेलरिङ क्षेत्रमा जम्दै गरेका परियार यतिखेर उमेरले जम्मा ३४ वर्षका भए । विगत ८ वर्षदेखि ‘ऐतिहासिक तथा धार्मिक र पर्यटनले महत्त्वपूर्ण गोरखा जिल्लाको हस्पिटल चोकमा “द युनिक टेलर्स” नामको व्यवसाय संचालन गर्दै परिचित बनेका परियार ३४ वर्षको उमेरमा आफ्नो पेशागत संगठन “गोरखा टेलरिङ व्यवसायी संघ” गोरखाको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।
उसो त, गोरखा बजार परियारको कर्मभूमि हो । गोरखाको साबिक ताकुकोटमा वि.सं. २०४५ सालमा जन्मिएका परियार पछिल्लो समय टेलरिङ क्षेत्रमा जम्दै गएका युवा हुन् । उनको बाल्यकाल जन्मघर ताकुकोटमा नै बित्यो । सामान्य परिवारका उनि स्कुल लेभलसम्म ताकुकोटमै बिताएका उनले एस.एल.सि भने प्राइभेट मार्फत पोखराबाट गरे ‘प्लस टु’ को यात्रा काठमाडौंबाट गरेपनि पारिवारिक अवस्थाका कारण उनको सपना पूरा हुन् सकेन ।
बाल्यकाल देखि वयष्क हुँदासम्म उनले थुप्रै योजनाहरू बुने । बाल्यकालदेखि नै डाक्टर बन्ने सपना बोकेका परियारको सपना मन भित्र नै सिमित रह्यो परिवारको आर्थिक स्थिति कम्जोर भएका कारण सपनालाई बिट मारेका उनले भबिष्यमा अर्कै केही गर्ने मनासय राखे, स्कुल अध्ययनकै क्रममा एक सामान्य टेलर्सबाट बेसिक सिलाइ बुनाइ सिकेका उनले आज यहाँ सम्मको यात्रा तय गरेको उनी बताउँछन् ।
सिलाइ कटाई क्षेत्रमा थुप्रै अनुभव संगालेका उनले डाक्टर बन्ने सपनालाई थाती राख्दै उनले काठमाडौको एक “न्यु फेसन” (बिदेश निर्यात हुने कपडा तयारी हुने ठाँउ) मार्फत आफ्नो करियर सुरु गरे, यस क्षेत्रमा मेहनत, इमानदारी र परिश्रमका कारण संन्चालक संग निकट रहेका उनी त्यँहि नै रम्न थाले, उनी सम्झिन्छन् त्यस अल्लारेपन हुँदा बखत राम्रो कामलाइ हौसला र गलतलाई सुधार्ने अवसर दिदै उर्जा दिने उहाँ नै (हरिचन्द्र खड्का हाल डाइरेक्टर ज्योती बिकास बैंक) मेरो जिबनको इमानदारी र मेहनतको गुरु हुनुभयो । बुटिकमा नै काम गर्ने शिलसिलामा एक्कासि सर्टिङ सुर्टिङ तिर मन लम्किरहेको उनको यात्राले फेरि काठमाडौकै एक टेलर्समा काम सुरु गर्न थाले, त्यहाँ फेरी उनले टेलर्सबाट तयारी हुने जेन्सको कपडा सम्बन्धि बेसिक लेभल देखिनै काम सिक्न सुरु गरे, करिब १ वर्ष आजभन्दा करिब १७ वर्ष अगाडि सिकेका कामको अनुभव सम्झँदै परियारको त्यही सुरुवाती नै टेलरिङ जगतको पहिलो खुड्किलो बन्यो, त्यसपछि पारिवारिक आर्थिक अवस्थाका कारण सीप सिक्न भन्दा धेरै समय आम्दानी तिर समय खर्च गरेर आम्दानी गर्दै आर्थिक उन्नतितिर लागेका उनि रोजगारीका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरे । जब त्यहाँ पुगे अचम्म मान्दै र सोच्दै अब नयाँ ठाँउ अनि नयां परिवेश अनि मेरो उपस्थिती पश्चात् मेरो आम्दानी संगै सीप सिकाइ कत्तिको होला भन्ने सोचाइमा परेका उनी करिब एक वर्षको अनुभव र आम्दानी लिएर नेपाल फर्किए । जब पहिलोपटक परदेश जांदा जति निराश थिए फर्किदा आम्दानी र सीप उपलब्धि संगै उर्जा लिएर फर्किएको उनिमा उत्तिकै उर्जा थपिएको बताउने उनि नेपाल फर्के लगत्तै केही दिनमा नै भरतको गोवा भन्ने ठाउँमा जाने अवसर मिल्यो । जहाँ बिदेशी पर्यटन आउने एरिया साथै त्यहाँ बुटिक संम्बन्धि काम जानेको जनशक्ति खोज्ने क्रममा मेरो सम्पर्कमा उनिहरु आए र मलाइ सोही स्थानमा जान आग्रह गरे, यसो सोचे यो बुटिक सम्बन्धि काम पहिले नै छोडिसकेकोले खासै त्यस प्रस्ताव उल्लासमय नलागेपनी सीप क्षमता अझै वृद्धि गर्न सकिन्छ भन्ने सोचले उनि भारतको गोवा सिटि लागे, त्यहाँ सिजनेवल बिजनेश हुने भएकोले सिजन सक्काएर नेपाल फर्किएका उनी, त्यसपश्चात आफ्ना बुवा कार्यरत रहेको स्थान भारतको कोलकाता तर्फ लागे । त्यहाँ बसाइको बेला एक टेलर्समा काम गर्ने अवसर मिल्यो, त्यहाँ बाट सिलाइमा थप अब्बल बन्ने अवसर मिलेको र त्यस पसलको संचालक आफू प्रती उत्तिकै मेरो चाहनालाइ ध्यान दिएको उनी सम्झिन्छन, कामको नै शिलसिलामा वैदेशिक रोजगारी संगै प्लेन चड्ने रहर बोकेका उनले अन्ततः टेलरिङ पेशाकै लागि मलेसिया प्रस्थान गरे । युवा जोश, सम्बन्धित काम सँग प्रशस्त अनुभव भएका उनिमा त्यो अनुभव र काममा आएको निखारताले उनलाई त्यस कम्पनिमा छोटो समयमै सुपरम्यान जस्तो महत्वपूर्ण जिम्मेवारी दिलायो । तीन वर्से बैदेशिक रोजगारी अनि सिकाइको अनुभव लिएर नेपाल फर्किएका उनी गोरखा बजारको एक प्रतिष्ठित टेलर्स बाट काम सुरुवात गर्न थाले, पैसा कमाउनुु मात्रै ठुलो कुरा होईन समाजमा राम्रा कामले परिचित हुनुपर्छ भन्ने सोचले वैदेशिक रोजगारी त्यागेर देेेशमा नै केही
गर्नुपर्छ भनेर स्वदेश फर्किएका उनी केही समयमा नै आफ्नै व्यवसाय सुचारु गर्ने सोच बोकेर योजना बनाउन थालेका उनले गोरखा बजारकोहस्पिटलचोकमा “द युनिक टेलर्स” नामको सर्टिङ सुर्टिङ एण्ड टेलरिङ संचालमा ल्याए ।

आर्थिक अवस्था न्यून रहेकै कारण पढाई संगै आफ्नो सपना अधुरो छोडेर फरक पाटोतर्फ आफ्नो जिवनी फेर्न पुगेका उनिमा सानैदेखी सामाजिक क्षेत्रमा अग्रसर रहेर समाजसेवा गर्ने रहर बोकेका थिए । नयाँ स्थापित व्यवसाय र सामाजिक क्षेत्रमा आफ्नो भुमिकामा उत्तिकै अब्बल बनाउदै लगे, समयको आवश्यकता अनुसार सबै पेसागत संगठनको संगठित हुनेक्रम बढ्दो भएसंगै उनले अब टेलरिङ क्षेत्रको पनि पेशागत संगठन आधिकारिक रुपमा नै हुनुपर्छ भन्ने सोचेर “नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ गोरखा” २०५५ लाई आधिकारिकता दिदै नाम परिवर्तन गरी “गोरखा टेलरिङ व्यवसायी संघ गोरखा” लाई बिधिवत रुपमा राज्यको आवश्यक पर्ने सबै निकायमा दर्ता गरि आफू संस्थापक कोषाध्यक्षको भुमिकामा रहेर जिल्ला भित्र टेलरिङ व्यवसाय गरि बस्नेहरुलाइ संगठित बनाउन थाले ।
संस्था संचालनको सुरुवाती चरण देखि नै सांगठनिक रुपमा अब्बल देखिएका उनी दोस्रो कार्यकालमा संस्थाका महासचिव हुँदै हालै सम्पन्न दोस्रो अधिबेशन बाट अध्यक्षमा निर्वाचित भए, आफ्नो पेशागत संगठनको नेतृत्व गरिरहेका उनी लायन्स क्लब अफ गोरखा डाइमण्डका प्रथम उपाध्यक्ष साथै अन्य थुप्रै संघ संस्थामा आवद्ध रहेर सामाजिक क्षेत्रमा सेवा गरिरहेका एक उदाउदो युवा हुन् ।
“निरन्तरको मेहनतले दिएको सफलता”
डाक्टर हुने सपना बुनेका परियार पछि मात्रै टेलरिङ क्षेत्रमा ‘डाइभर्ट’ भएका थिए । अध्ययनकै क्रममा सामान्य जीविकोपार्जनका लागि सिलाइ काम गर्न पुगेका उनलाई पछि त्यही क्षेत्रमै रमाइलो लाग्न थाल्यो । ‘गरिरहेको काममा संतोषजनक आम्दानि गर्न थालेपछि त्यसले एक किसिमको सफलता दिँदो रहेछ,’ परियारले विगत सम्झँदै भन्छन् ।
उनले आफु व्यवसायी बन्नु अघि काठमाडौ, भारतको विभिन्न शहर, साथै अन्य बैदेशिक रोजगारी, सिकाइ र बिदेशमा रहदा बिदेशी ग्राहक संगको समेत अनुभव संगालेका उनिमा व्यापारी र ग्राहक संग गर्नुपर्ने व्यवहारको साथै लेडिज र जेन्स सम्बन्धि तयारी हुने पोशाकको बारेमा प्रशस्त अनुभव भएपनी अझै आफ्नो जिबनमा सिकाइको कमि रहेको र समयको आवश्यकता अनुसार सीप सिक्ने अवसरमा पछि कहिलै नपर्ने उनी बताउछन् । सामान्य जिवनयापन, ग्राहक संगको नम्र व्यवहार, व्यवसाय र ग्राहक उत्तिकै सम्मान गर्दै समान व्यवहारमा राख्न सक्ने उनको आफ्नै व्यवसाय थालनि गरेको नै ८ वर्ष पुगिसकेको छ, ८ वर्षको अवधिमा उनले आफूलाई निकै सफल र स्थापित व्यवसायी बनाइसकेका छन् । धैर्यता, मेहनत र लगनशीलताले टेलरिङ क्षेत्रमा काम गरेको छोटो समयमै महत्वपूर्ण उपलब्धि आफूले हात पारेको परियारलाई महशुस हुन्छ ।
‘सफल हुनका लागि मेहनत चाहिने रहेछ, मैले गरेको मेहनत अनुसार नै म अहिले यहाँ जम्दै गएको छु जस्तो लाग्छ, काममा दिने योगदान नै मुख्य कुरा रहेछ,’ उनले भन्छन् ।
भविष्यमा पनि व्यवसाय संगै सामाजिक क्षेत्रमै काम गर्ने उनको सोच छ । उनी भन्छन्,‘हरेक दिन नयाँ ग्राहकसँग भेट्न पाउनु, उहाँहरूको रोजाइ अनुसारको आवश्यकता पूरा गर्न पाउनु टेलरिङ क्षेत्रको रमाइलो पाटो हो ।’ उनले व्यवसायिक क्षेत्रमा आफूलाई यहीँ रमाइलो पलले जमाइराखेको समेत उल्लेख गरे ।
यम बहादुर गुरुङ
वारपाक सुलिकोट, ८ गैरिछाप गोरखा